प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हुँ : अहिले सरकारमात्रै होइन, प्रतिपक्ष झनै बलियो भएको लामिछानेको तर्क
काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार भन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गरेका छन् ।
नीति, संगठन र नेतृत्व कार्याशालामा केन्द्रीय सदस्यलाई प्रशिशित गर्दै सभापति लामिछानेले बस्तीबस्तीमा पुगेर सरकारले गरेका कार्यहरू जनतालाई बुझाउन आग्रह गरे ।
'स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा हामी पछि पर्छौं,' सभापति लामिछानेले भने, 'अहिले सरकार मात्र बलियो छैन । प्रतिपक्ष झन बलियो छ ।
बलियो प्रतिपक्षलाई राजनीतिक तबरले काम गर्न सकेनौं भने त्यसले अर्कैं ठाउँमा लिएर जान्छ ।' सुशासनको मुद्दा उठाएको रास्वपाले कहिंकतै अनियमिततामा प्रश्न नउठेको बताए ।
यसले मात्रै प्रर्याप्त नहुने बताउँदै लामिछानेले भने, 'म मधेश जाँदैछु । केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी दिएर गाउँ गाउँ पठाइन्छ ।' रास्वपा सभापति रवि लामिछानेले आफूले हाँसी हाँसी किस्तीमा उपहार पाएको प्रधानमन्त्री पद छाडेको बताउँदै नेता कार्यकर्ताहरूलाई आवश्यक पर्दा त्याग गर्न तयार रहनुपर्ने बताएका छन् ।
'केही गर्न सकिँदैन भने पनि नराम्रो केही नगर्न सकिन्छ,' उनले भने, 'हिजो दोष लगाउने कयौं नेता थिए । आज कसलाई देखाउने ?' यसअघि आफू २१ सिटको दलको नेतृत्व लिएको बेलामा आफ्नो मात्रै हस्ताक्षर गर्न बाँकी राखेर किस्तीमा प्रधानमन्त्री पद पाएको तर आफूले त्यसलाई वास्ता नगरेको उनको भनाइ छ ।
'मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो । भइदिउँन त भन्दा त्यति धेरै गाह्रो पनि थिएन । त्यतिखरे एउटै चिज दिमागमा आयो, यत्रो आन्दोलन, यत्रो आशा, भरोसा कहाँ जान्छ ?'
म भइ नै हालेको भए, दुर्ई, चार महिनाको प्रधानमन्त्री हुँन्थे होला,' सभापति लामिछानेले भने, 'धेरै नै भए सिंहदरबारमा एउटा तस्वीर सम्म टाँसिन्थ्यो होला । तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रा होनाहार युवा कुरेर बसेको थियो, त्यतिखेर साँच्चै मलाई त्यो महसुस भएको थियो ।'
सभापति लामिछानेले थप व्याख्या गर्दै भने, 'म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हो । मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो ।'
सभापति लामिछानेले भने, 'अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हामै्र हातमा छ नि ।'
केही गर्न सकिन्न भने पनि गलत नगर्न नेताहरूलाई आग्रह गरे । राम्रो केही गर्न नसके नराम्रो केही पनि नगर्न सकिने सभापति लामिछानेले बताए । 'हिजो हामीले दोष लगाउने कैयौं मानिसहरू थिए । कैयौं नेताहरू थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं । आज कसलाई दोष देखाउने ?,' नेताहरूलाई प्रश्न राखे ।
उनले रास्वपामाथि अहिले सबैले आशंकाको दृष्टि रहेको उल्लेख गर्दै पार्टीका सांसद तथा नेताहरूले आफ्नो व्यवहार र गतिविधिमार्फत त्यसको जवाफ दिनपुर्ने बताए । आफ्ना कारणले पार्टीको शिर नझुक्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरूलाई पनि त्यही जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरे ।
'मेरो कारणले तपाईंहरूको शीर झुक्दैन । अन्जानमा गल्ती–कमजोरी भएछन् भने त्यसलाई सच्याउने गर्छु । तपाईंहरूले पनि मरो कारणले पार्टीको शीर झुक्दैन भन्नुपर्छ,' उनले भने । लामिछानेले रास्वपामा विभिन्न क्षेत्र र पृष्ठभूमिका मानिसहरू राजनीतिमा प्रवेश गरेकाले पार्टीप्रति जनताको ध्यान केन्द्रित भएको बताए ।
आफूले नेताहरूलाई पढाउन वा सिकाउन नभई पार्टी आफ्नो उद्देश्य र बाटोबाट विचलित हुन नहुने विषयमा सचेत गराउन खोजेको उनको भनाइ थियो । उनले लोकतन्त्र बलियो बनाउन विभिन्न संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै पार्टीका गतिविधिका कारण लोकतन्त्र कमजोर हुने अवस्था अब सिउन नहुने बताए । '
विभिन्न संस्थाहरू भत्किए भने लोकतन्त्र कमजोर हुन्छ, 'लामिछानेले भने, 'तिमीहरूको हातमा लोकतन्त्र गयो भने भन्नेछन् त्यसमा हामी सचेत हुनुपर्छ ।' उनले विगत ३५ वर्षको आलोचनामा अल्झिनुभन्दा आगामी ३५ वर्षको योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।
'बितेको ३५ वर्षलाई कचकच गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस्,' लामिछानेले भने । उनले राजनीतिमा प्रवेश गर्नुको उद्देश्य पनि नेताहरूले सम्झिनुपर्ने बताए । इतिहासले दिएको महत्वपूर्ण अवसरका रूपमा अहिलेको समयलाई लिएर अघि बढ्नु पर्ने उनको भनाइ थियो ।
'राजनीति हामीले किन चुन्यौं, हामी सबैको आ–आफ्नै कारण होला । इतिहासले दिएको महत्वपूर्ण मौका सम्झेर अघि बढाउनुपर्छ । हाम्रा गतिविधिले लोकतन्त्र कमजोर नबनोस्,' उनले भने ।
लामिछानेले पार्टीका नेताहरूप्रति आफू असन्तुष्ट नभएको स्पष्ट पार्दै रास्वपामा क्षमतावान् व्यक्तिहरू रहेकोमा गर्व लागेको बताए । तर, ठूलो पार्टी भएका कारण आफूलाई थप चिन्ता हुने उनको भनाइ थियो । 'म तपाईंहरूसँग असन्तुष्ट छैन । एकसे एक होनहार हुनुहुन्छ, गर्व गर्छु । तर ठूलो पार्टी भएकाले थोरै चिन्ता चाहिँ लाग्दो रहेछ ,' उनले भने ।
उनले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै लामिछानेले पार्टी केन्द्रमा मात्र सीमित नरही गाउँ, टोल र बस्तीमा पुग्न निर्देशन दिए । स्थानीय तहमा पार्टी बलियो बन्न नसके जनताका अपेक्षा पूरा गर्न कठिन हुने र त्यसले थप निराशा पैदा गर्ने उनको चेतावनी थियो ।
उनले बलियो प्रतिपक्षका रूपमा पनि रास्वपाले प्रभावकारी राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यसमा असफल भए पार्टीप्रति जनतामा चरम निराशा पैदा हुन सक्ने उनको भनाइ थियो ।
सरकारका केही निर्णय विवादास्पद हुन सक्ने भए पनि रास्वपाले सुशासनको पक्षमा निरन्तर आवाज उठाउनु पर्ने लामिछानेले बताए । सरकारमा भइरहेका कामकारबाहीबारे जनताले सोध्ने प्रश्नको जवाफ पार्टीसँग हुनुपर्नेमा उनले जोड दिए ।
'सरकारका कामकारबाहीमा जनताले सोधेका कामकारबाहीको जवाफ हामीसँग हुनुपर्छ' उनले भने । लामिछानेले अहिलेको समय पार्टी निर्माणको आधार तयार गर्ने समय भएको खबर राष्ट्रवाणीमा उल्लेख छ ।
उनका अनुसार रास्वपाले अब संगठन विस्तार सँगै स्थानीय तहसम्म आफ्नो राजनीतिक उपस्थिति बलियो बनाउने र जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिनुपर्नेछ ।
लामिछानेले पार्टीभित्र रहेका फरक पृष्ठभूमिका व्यक्तिहरूलाई एउटै राजनीतिक उद्देश्यमा जोड्दै जिम्मेवार, अनुशासित र लोकतान्त्रिक ढंगले अघि बढ्नु पर्ने सन्देश दिएका छन् ।
