Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | (रासस)
newsabhiyan

भोजपुर, १ असोजः भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । ऐतिहासिक महत्व बोकेको दुङमागढीको विकास तथा संरक्षणमा पालिकाले जोड दिइरहेको अध्यक्ष राईको भनाइ छ ।

“दुङमागढी एउटा ऐतिहासिक स्थल हो”, अध्यक्ष राईले भन्नुभयो, “यो हाम्रो गाउँपालिकाको पहिचान पनि हो । यसको संरक्षणसँगै पर्यटनसँग जोड्ने लक्ष्य स्थानीय सरकारले लिएको छ ।”

यस्तै, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटकीय सम्भावना बोकेका ठाउँको पहिचान र पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । त्यस गढी पर्यटकीय सम्भावना रहेकाले प्रचारप्रसारमा ध्यान दिइएको उहाँले जानकारी दिनुभयो ।

“दुङमागढीमा पर्यटकको आगमन बढाउन सकिए स्थानीयस्तरमा रोजगार सिर्जनासँगै गाउँको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने देखिन्छ”, उपाध्यक्ष राईले भन्नुभयो, “यो क्षेत्रको विकासका लागि न्यूनतम पूर्वाधार निर्माणका साथै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छौँ ।”
    
प्राकृतिक सुन्दरताले भरिपूर्ण दुङमागढी क्षेत्रमा पछिल्लो समय वनभोज र मनोरम दृश्य अवलोकन गर्ने मानिसको उपस्थिति बढ्दै गएको छ । त्यसक्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलासँगै समथर फाँटले आगन्तुकको मन लोभ्याउने गरेकामा पूर्वाधार निर्माणपछि अझ बढी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेको स्थानीयको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan