प्रधानसेनापति सिग्देल चीन भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौं । प्रधानसेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्।
चिनियाँ सरकारको निमन्त्रणामा भदौ २८ गते चीन प्रस्थान गरेका प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङ्सान फोरममा सहभागिता जनाएका थिए। भ्रमणका क्रममा उनले चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनलगायत उच्च सैनिक अधिकारीसँग भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा नेपाल–चीन द्विपक्षीय सैनिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। सिग्देलले चीनको नेसनल डिफेन्स युनिभर्सिटीको समेत भ्रमण गरेका थिए।
चीन भ्रमणलाई नेपाली सेनाले सैनिक कूटनीतिमार्फत नेपाल–चीन सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा लिएको थियो।
यसैबीच, चीनबाट फर्किएलगत्तै प्रधानसेनापति सिग्देलको बेलायत भ्रमणको तयारीसमेत अघि बढेको छ। मन्त्रिपरिषद्ले उनको आगामी असोज १९ देखि २५ गतेसम्म बेलायत भ्रमण गर्ने प्रस्ताव स्वीकृत गरेको स्रोतलाई उद्धृत गर्दै समाचार सार्वजनिक भएको छ।
