खेल क्षेत्रको विकासमा आवश्यक बजेट व्यवस्था गर्छौंः मुख्यमन्त्री थापामगर
हेटौँडा, ३ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–४ वडा कार्यालयद्वारा आज आयोजित दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलाडीलाई प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री थापामगरले प्रदेशका १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावना भएका खेल क्षेत्रलाई मागका आधारमा बजेट विनियोजन गर्दै आएको उल्लेख गर्नुभयो । खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सन् २०२५ मा अजरबैजानको बाकुमा सम्पन्न अन्तरराष्ट्रिय मार्सल आट्र्स च्याम्पियनसिपमा पदक विजेता सुदर्शन खतिवडालाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा १४ डोजाङका महिला तथा पुरुष गरी १६० खेलाडी सहभागी छन् । हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलका अनुसार प्रतियोगिता महिला र पुरुषतर्फ सात तौल समूहमा सञ्चालन भइरहेको छ ।
