Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिनियाँ आइसक्रिमउद्योगको विदेशी बजारमा बढ्दो विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार | (रासस/सिन्ह्वा)

गाजर, भन्टा र तारेको कुखुराको मासुजस्ता देखिने वस्तुहरू पहिलो नजरमा ताजा खानेकुरा जस्तै लाग्छन् । तर नजिकबाट हेर्दा ती वास्तवमा आइसक्रिमका सिर्जनात्मक नमुना हुन् ।

    उत्तर चीनको तियान्जिन नगरपालिकामा बुधबारदेखि शुक्रबारसम्म आयोजित २८ औँ चीन आइसक्रिम तथा फ्रोजन फुड इन्डस्ट्री एक्स्पोमा यस्ता नवीन उत्पादनले भारतका डेजर्ट निर्माता यशको ध्यान ताने । “यहाँ धेरै नयाँ र रोचक आइसक्रिम उत्पादन छन्, जसमा विभिन्न स्वाद र प्रकार उपलब्ध छन्”, उहाँले भन्नुभयो । 

    ‘आइआइ मिडिया रिसर्च’का अनुसार चीनको आइसक्रिम बजार सन् २०२५ मा १९१ दशमलव दुई अर्ब युआन (करिब २८ दशमलव ३२ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा चार दशमलव १९ प्रतिशत बढी हो ।

    तियान्जिन प्रदर्शनीमा चिनियाँ कम्पनीहरूले आइसक्रिम उत्पादनमा सिर्जनात्मकतालाई प्राथमिकता दिएको देखिएको छ । ‘साङ्घाई नाइसेम ब्रान्ड म्यानेजमेन्ट कम्पनी लिमिटेड’का महाप्रबन्धक याङ यिउका अनुसार गाजरको आकारमा बनाइएको आइसक्रिम कम्पनीको प्रमुख नवीन उत्पादनमध्ये एक हो ।

    याङका अनुसार चिनियाँ आइसक्रिम उत्पादनका लागि विदेशी बजारमा पनि पर्याप्त अवसर छन् । विशेषगरी परम्परागत आइसक्रिमको बजार विकसित भइसकेका देशमा नयाँ स्वाद र फरक स्वरूपका उत्पादनको माग बढिरहेको उहाँले बताउनुभयो ।  कम्पनीका उत्पादन २० भन्दा बढी देश तथा क्षेत्रमा निर्यात भइसकेका छन् ।

    यस वर्षको प्रदर्शनीमा १२० भन्दा बढी देश तथा क्षेत्रबाट एक हजार ८०० भन्दा बढी खरिदकर्ता सहभागी भएका थिए । करिब ३० अन्तरराष्ट्रिय प्रदर्शकसहित ५६० कम्पनीको सहभागिता रहेको थियो, जुन प्रदर्शनीको नयाँ कीर्तिमान हो ।

    विदेशी खरिदकर्ताले उत्पादनको स्वाद लिनुका साथै आइसक्रिम उत्पादन तथा प्याकेजिङ उपकरणको अवलोकन र सम्भावित व्यापारिक साझेदारीबारे छलफल गरेका थिए ।

    बेलायतस्थित फिनचर लिमिटेडका प्रबन्ध निर्देशक मार्क गजनले चीनमा निर्मित उपकरणप्रति आफ्नो कम्पनीको चासो बढेको बताउनुभयो । युरोपमा उपकरणको मूल्य उच्च रहेकाले आफूहरूले वैकल्पिक आपूर्तिकर्ता खोजिरहेको उहाँले बताउनुभयो । 

    दायुआन इन्डस्ट्रियल कम्पनी लिमिटेडका अध्यक्ष काओ चुआन्योङका अनुसार चिनियाँ खाद्य प्याकेजिङ उपकरणले प्रविधि र गुणस्तरका कारण अन्तरराष्ट्रिय बजारमा बढ्दो मान्यता पाउँदै आएको छ । कम्पनीका उपकरण ८० भन्दा बढी देश तथा क्षेत्रमा बिक्री भइसकेका छन् र कुल बिक्रीको करिब ८० प्रतिशत हिस्सा विदेशी बजारबाट आउने गरेको उहाँले बताउनुभयो । 

    उद्योगका जानकारहरूका अनुसार कच्चा पदार्थदेखि उत्पादन उपकरण र प्याकेजिङसम्म चीनले विकास गरेको पूर्ण औद्योगिक शृङ्खलाले विदेशी ग्राहकलाई मेसिनदेखि पूर्ण उत्पादन लाइनसम्मका समाधान उपलब्ध गराउन सहयोग गरेको छ ।

    चीन आफैँ पनि अन्तरराष्ट्रिय आइसक्रिम ब्रान्डका लागि महत्वपूर्ण बजार बन्दै गएको छ । म्याग्नम र वाल्सले चीनमा उत्पादन क्षमता विस्तार तथा कारखानाको आधुनिकीकरणमा लगानी बढाइरहेका छन् ।

    इटालियन आइसक्रिम कम्पनी बाबी एसआरएलका क्षेत्रीय प्रबन्धक थोमस मान्सिनले चीनको आइसक्रिम तथा जेलाटो बजार आगामी वर्षमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ पुस्तामा आइसक्रिम र दुग्धजन्य उत्पादनप्रति बढ्दो रुचिले बजार विस्तारमा सहयोग गर्ने उहाँले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan