(कविता) ।।बानी भैसक्यो।।
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
-दिनेश घिमिरे
आँखा भरीको आँशु छोपेर
मुस्कान देखाउने बानी भैसक्यो
पिडाले छाती जति घोचिरहे पनि
बलिया तिघ्रा देखाँउने बानी भैसक्यो।।
आखाँहरूले देख्ने दृष्टान्त छोपेर
आफुलाई भित्र हेर्ने बानी भैसक्यो
अरूले आफुलाई कसरी हेर्छन कुन्नि
आखाँमा मन बुझाउने बानी भैसक्यो।।
कानहरूले जे जे सुन्छन् सुन्न दिन्छु
आफ्नै क्यानभासमा बस्ने बानी भैसक्यो
जसले जे जो सुनाउँछन् सुनिदिन्छु
आफ्नै शब्दहरूमा बस्ने बानी भैसक्यो।।
सुख दुखमा दिनहरू बितेर जान्छन्
आजको दिनमा बाच्ने बानी भैसक्यो
भोलि केहुन्छ कस्लाई पो थाहा छ र
आफ्नै रहरहरूमा बाँच्ने बानी भैसक्यो।।
