Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस-एएफपी)

नागोया, ४ असोज : आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिताको उद्घाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन् ।

जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते । चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते । होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे ।

“यो हाम्रो पहिलो स्वर्ण पदक भएकाले यसले जापानी टोलीको मनोबल उच्च बनाएको छ”, ३० वर्षीय होजोले भने । उनको जितले सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि छनोटको अवसरसमेत सुनिश्चित गरेको छ ।

महिला व्यक्तिगत ट्रायथलनमा भने चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् । उनकी हमवतन हुआङ आन्की दोस्रो तथा जापानकी मानामी हायासी तेस्रो भइन् ।

पौडीमा अर्को महिना १४ वर्ष पुग्न लागेकी यु जिदीले महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा आफ्नै देशकी चाङ मोहनलाई करिब दुई दशमलव ७० सेकेन्डले पछि पारिन् । उनी आइतबार हुने फाइनलमा स्वर्णको दाबेदार बनेकी छन् ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानधारी तथा ओलम्पिक च्याम्पियन चीनका पान झानलेले ४८ दशमलव ०७ सेकेन्डमा सबैभन्दा छिटो समय निकाल्दै फाइनलमा स्थान बनाए । उनी दक्षिण कोरियाका ह्वाङ सन–वुभन्दा शून्य दशमलव ०६ सेकेन्डले मात्र अगाडि रहे ।

नागोयास्थित ३० हजार दर्शक क्षमताको रङ्गशालामा शनिबार जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । अक्टोबर ४ सम्म चल्ने प्रतियोगितामा ४६९ स्वर्ण पदकका लागि एसियाभरका खेलाडीले ४० भन्दा बढी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकले खर्च घटाउन परम्परागत खेलाडी गाउँ निर्माण नगरेका कारण ११ हजारभन्दा बढी खेलाडी र छ हजार अधिकारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सहभागीहरू होटल, अस्थायी आवास तथा ‘कोस्टा सेरेना’ क्रुज जहाजमा बसिरहेका छन् ।

यातायातको समस्याका कारण केही खेलाडी विमानस्थलमै अलपत्र परेको र अस्थायी आवासको गुणस्तरबारे टोलीहरूले गुनासो गरेको जनाइएको छ । यसैबीच, दक्षिण कोरियाली पुरुष हक्की टोलीको खेलअघि गल्तीले उत्तर कोरियाको राष्ट्रिय गान बजाइएको घटनामा आयोजकले माफी मागेको छ । 

प्रतियोगितामा एथलेटिक्स र पौडीजस्ता ओलम्पिकका प्रमुख खेलसँगै सेपाक ताक्रो र कबड्डीजस्ता क्षेत्रीय खेल पनि समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan