Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विदेशी विद्यार्थीलाई आकर्षित गर्न इक्यानद्वारा ‘झापा घोषणापत्र’ जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस)

भद्रपुर (झापा), ४ असोजः नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने सङ्कल्पसहित ‘झापा घोषणापत्र २०८३’ जारी गरेको छ ।

    झापाको बिर्तामोडमा सम्पन्न शैक्षिक परामर्श सङ्घको तेस्रो संस्करण (लिडर्स मिट)को आज यहाँ समापन कार्यक्रममा १० बुँदे ‘झापा घोषणापत्र’ जारी गर्दै विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने ‘इनबाउन्ड एजुकेसन मोबिलिटी’ (विदेशी विद्यार्थी तथा शोधकर्ताहरूको आगमन) लाई संस्थागत रूपमा अघि बढाउने उल्लेख गरेको छ ।

    इक्यानका पूर्वअध्यक्ष शेषराज भट्टराईले नेपाली विद्यार्थीलाई विदेश पठाउने भूमिकासँगै नेपालमा विदेशी विद्यार्थी भित्र्याउने सम्भावनामा पनि काम गर्नुपर्ने बताउनुभयो । “नेपालमा गुणस्तरीय शैक्षिक संस्था र प्राकृतिक तथा सांस्कृतिक विविधता छन् । यसलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नसके विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

    इक्यानले अन्तरराष्ट्रिय शैक्षिक साझेदारी विस्तार तथा नेपालमा अन्तरराष्ट्रिय शिक्षा बजार विकासका सम्भावनामा काम गर्ने जनाएको छ । कोशी प्रदेशमा विदेशी विद्यार्थी आकर्षित गर्न सकिने सम्भावना रहेको भन्दै अन्तरराष्ट्रिय शैक्षिक संस्था तथा साझेदारसँग सहकार्य विस्तार गर्ने घोषणापत्रमा उल्लेख छ ।

    इक्यान केन्द्रका प्रथम उपाध्यक्ष वासुदेव दाहालले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यले घोषणापत्र जारी गरिएको बताउनुभयो । घोषणापत्रमा विद्यार्थी तथा अभिभावकको सुरक्षा, व्यावसायिक अधिकारको संरक्षण, पारदर्शी नियमन र अन्तरराष्ट्रिय साझेदारीलाई प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।

    इक्यानले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालनसम्बन्धी नियमावली, २०८३ का केही प्रावधानप्रति असहमति जनाउँदै सम्बन्धित निकायसँग संवाद र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । 

    असोज २ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको लिडर्स मिटमा देशभरका शाखा प्रमुख, केन्द्रीय नेतृत्व, पूर्वअध्यक्ष, सल्लाहकार तथा सदस्य गरी करिब १५० जनाको सहभागिता थियो । सहभागीबीचको छलफल र सुझावका आधारमा घोषणापत्र तयार गरिएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan