पर्सामा १५४ अपराधका मुद्दा दर्ता
वीरगञ्ज (पर्सा), ५ असोजः पछिल्लो एक महिनामा जिल्लामा विभिन्न प्रकृतिका १५४ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो अवधिमा १३८ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्रबहादुर मल्लले भदौ महिनामा सामाजिक अपराधसम्बन्धी ७७ वटा, सङ्गठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ११, बालबालिकासम्बन्धी नौ, सवारी ज्यान पाँच, अन्य आठ र चोरीसम्बन्धी नौ वटा मुद्दा दर्ता भएका भएको जानकारी दिनुभयो ।
अदालतको फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मुद्दामा फरार रहेका १०७ जना प्रतिवादी पनि सोही अवधिमा पक्राउ परेका छन् । उनीहरूलाई २४ वर्ष तीन महिना २८ दिन कैद भुक्तानका लागि पठाइनुका साथै रु एक करोड १४ लाख ८१ हजार ७५० जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रु एक करोड नौ लाख नौ हजार ५९५ बराबरको अवैध सामान बरामद गरिएको छ ।
