मतदाता सूची विवादमा दिल्लीका पार्क बन्द
भारतमा मतदाता सूची संशोधनका क्रममा लाखौँ मतदाताको नाम हटाइएको भन्दै निर्वाचन प्रमुखलाई पदबाट हटाउन मागसहित प्रदर्शनको तयारी भएपछि अधिकारीहरूले शुक्रबार नयाँदिल्लीको सेन्ट्रल पार्क बन्द गरेका छन् ।
कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको प्रदर्शनमा मतदाता सूची संशोधनबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्याइएको आरोप लगाइएको छ । सञ्चारमाध्यमका अनुसार संशोधनका क्रममा १३ करोडभन्दा बढी नाम हटाइएको छ । आलोचकहरूले यसबाट विशेषगरी मुस्लिम समुदाय प्रभावित भएको बताएका छन् । निर्वाचन आयोगले भने दोहोरो, मृतक र नक्कली नाम हटाउन संशोधन गरिएको जनाउँदै अनियमितताको आरोप अस्वीकार गरेको छ ।
सिजेपीका संस्थापक अभिजीत डिप्केले राष्ट्रिय झण्डा फहराउन खोज्दा आफ्ना दुई सहकर्मी पक्राउ परेपछि समर्थकहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको थियो । प्रहरीले जन्तर मन्तरमा प्रदर्शनको अनुमति फिर्ता लिएपछि उहाँले सेन्ट्रल पार्कमा र्याली गर्ने तयारी गर्नुभएको हो ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले कनाट प्लेस क्षेत्रमा सार्वजनिक जमघटमा रोक लगाउँदै आदेश उल्लङ्घन गर्नेलाई कानूनी कारबाही गर्ने जनाएको छ । नगर अधिकारीहरूले भने प्रशासनिक कारण देखाउँदै पार्क दुई दिनका लागि बन्द गरिएको बताएका छन् ।
डिप्केले पक्राउ पर्ने सम्भावना भए पनि प्रदर्शनबाट पछि नहट्ने बताउनुभयो । भारतीय झण्डा फहराएकै कारण जेल जानुपरे पनि आफूहरू तयार रहेको उहाँको भनाइ थियो ।
यसैबीच, भारतका रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूले निर्वाचन सुधारका लागि नभई लोकतान्त्रिक संस्थालाई कमजोर बनाएर देशमा अराजकता फैलाउँदै सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले विपक्षीहरूको अभियान देशका युवाको उज्ज्वल भविष्यका लागि समेत नभएको बताउनुभयो ।

