Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | कायरो, २ कात्तिक (रासस/एपी):

यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा गरेको आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ । आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् ।

    यमनी सेनाका दुई अधिकारीका अनुसार, इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार दक्षिणी प्रान्त शबवास्थित ‘अल–आलम’ सैन्य शिविरलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल प्रहार गरेका थिए ।

    अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारका ती अधिकारीहरूले सञ्चारमाध्यमलाई जानकारी दिन आधिकारिक अनुमति नपाएकाले नाम गोप्य राख्ने सर्तमा घटनाबारे जानकारी दिएका हुन् ।

    पछिल्ला दिनमा यमनमा बढ्दै गएको द्वन्द्वका घटनामध्ये यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो । इरान र अमेरिकाबीचको व्यापक द्वन्द्वका कारण क्षेत्रीय तनाव चुलिएसँगै केही महिनायता यमनमा पनि लडाइँ तीव्र बनेको छ ।

    हुथी विद्रोही र साउदी अरब समर्थित सरकारी सेनाबीच बढ्दो तनावले सन् २०२२ मा भएको युद्धविरामलाई कमजोर बनाएको छ । उक्त युद्धविरामले यमनको गृहयुद्धमा जारी लडाइँलाई धेरै हदसम्म नियन्त्रणमा राख्न मद्दत गरेको थियो ।

    यसैबीच, हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार साउदी नेतृत्वको गठबन्धनले गरेको भनिएको हवाई आक्रमणमा यमनको उत्तरी प्रान्त सादामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच बालबालिका र दुई महिला रहेका छन् ।

    हुथी विद्रोहीका अनुसार, सप्ताहान्तमा भएका यस्तै अन्य आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको वा उनीहरू घाइते भएका छन् ।

    यी घटनाबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan