Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | रासस

 पाँचथर, १९ कात्तिकः पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ ।

    जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले उद्घाटन गर्नुभयो । 

    पाँचथर, तेह्रथुम र ताप्लेजुङ कार्यक्षेत्र रहेको डिभिजनमा ११ जना कर्मचारीको दरबन्दी छ । मन्त्रिपरिषदको गत असोज १३ गतेको निर्णयबमोजिम स्थानीय पूर्वाधार विकास विभाग मातहतमा डिभिजन स्थापना भएको डिभिजन प्रमुख रामआशिष शाहले जानकारी दिनुभयो । 

    डिभिजनले पर्यटकीय सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालय जोड्ने सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणलगायत क्षेत्रमा कार्य गर्ने क्षेत्राधिकार पाएको डिभिजन प्रमुख शाहले वताउनुभयो । सातै प्रदेशमा रहेका पूर्वाधार सुपरीवेक्षण तथा अनुगमन कार्यालयको मातहतमा देशभरिमा २१ वटा डिभिजनमध्ये कोशी प्रदेशको पाँचथरमा पहिलो डिभिजन स्थापना भएको हो । 

    कोशी प्रदेशमा पाँचथर डिभिजनले तेह्रथुम र ताप्लेजुङ, इलाम डिभिजनले इलाम र झापा, धनकुटा डिभिजनले धनकुटा, भोजपुर र संखुवासभा , ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु तथा इटहरी सुपरीवेक्षण कार्यालयले प्रत्यक्ष रुपमा मोरङ, सुनसरी र उदयपुरमा कार्य गर्ने शाहले वताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय तहले समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक र पुलका समस्या समाधान गर्न कार्यालय परिणामुखी हुने विश्वास गरिएको वताउनुभयो । “यहाँ विपदका कारण ग्रामीण क्षेत्रमा सडक र पुल अलपत्र छन । तिनको पुनर्निर्माणमार्फत जनजीवन सहज बनाउन यो डिभिजन सहयोगी हुने यहाँको अपेक्षा छ,” प्रजिअ दाहालले भन्नुभयो, “यस कार्यालयबाट यहाँका नागरिकले धेरै लाभ लिन सक्नुपर्छ ।” उहाँले पूर्वाधार, रोजगारी र उत्पादनमार्फत गरिबी निवारण मद्दत पुग्ने योजना अघि बढाउन पनि डिभिजनलाई आग्रह गर्नुभयो । 

    फिदिम नगरपालिकाका नगर प्रमुख काफ्लेले सङ्घीय सरकारले विकासका प्रायः सबै कार्य गर्ने पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुशीको कुरा भएको वताउनुभयो । उहाँले सङ्घीय कार्यालय स्थापना हुँदा स्थानीय तहलाई काम गर्न सघाउ पुग्ने वताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan