प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व
मकवानपुर, १९ कात्तिकः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
प्रतियोगिताबाट छनोट भएका १४ खेलाडीमध्ये मकवानपुरका ६ खेलाडीले विभिन्न तौल समूह तथा कातामा स्थान सुरक्षित गरेका छन् । बागमती प्रदेशका १३ जिल्लाका ७५ खेलाडी सहभागी प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न तौल समूह तथा काताका खेलाडी छनोट गरिएको प्रदेशस्तरीय प्रतियोगितामा संयोजन गर्नुभएका बागमती प्रदेश खेलकुद परिषद्का सदस्य गोविन्दलाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलातर्फ ४५ केजी तौल समूहमा ललितपुरकी साहारा वाइबा, ५० केजीमा काठमाडौँकी उपासना श्रेष्ठ, ५५ केजीमा सिन्धुलीकी कविता मोक्तान र ६० केजीमा मकवानपुरकी रेश्मा थापा छनोट भएका छन् । खुला तौल समूहमा मकवानपुरका सेर्साङ स्याङ्तान तथा महिला कातामा मकवानपुरकै रसु श्रेष्ठ छनोट भएका छन् ।
त्यसैगरी, पुरुषतर्फ ४५ केजी तौल समूहमा मकवानपुरका रिदम थापा, ५० केजीमा रामेछापका सुजन विक, ५५ केजीमा काभ्रेका सुसान तामाङ, ६० केजीमा मकवानपुरका सन्तोषकुमार लामा, ६५ केजीमा काठमाडौँका अनुग्रह देवकोटा र ७० केजीमा मकवानपुरका आर्यन सिन्चुरी छनोट भएका छन् । खुला तौल समूहमा ललितपुरका साहिल श्रेष्ठ र पुरुष कातामा रामेछापका विवेक बर्देवा छनोट भएका छन् ।
प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख प्रशिक्षक कुमार श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


