पशुपतिनाथ क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा, स्वास्थ्य र खानेपानी सेवा
काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा, स्वास्थ्य तथा खानेपानी सेवासहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ।
गएराति २ बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति–सुरक्षा तथा स्वास्थ्य सेवाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल, बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स तैनाथ गरिएको छ।
त्यसैगरी, खानेपानीको व्यवस्थाका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयबाट ट्यांकरसहितको टोलीसमेत रातिदेखि नै परिचालन गरिएको छ। पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ।
तीजको मेला अवधिभर कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सूक्ष्म निगरानीका लागि मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सादा पोसाकमा समेत पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
मन्दिर आसपासका तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, विश्वरूपा मन्दिर, गौरीघाटलगायतका क्षेत्रमा पनि आवश्यक शान्ति–सुरक्षाका लागि गस्ती बढाइएको छ।
सुरक्षा व्यवस्थापनमा आवश्यक समन्वयका लागि पशुपति मन्दिर परिसरमै कमान्ड पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
