सप्तरीबाट १४ सय किलो गाँजा बरामद, एक जना पक्राउ
काठमाडौं । सप्तरीबाट प्रहरीले करिब १४ सय किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित कटैया गाउँमा गएराति करिब १ बजे विशेष सूचनाका आधारमा प्रहरीले भोला सदाको घरमा खानतलासी गरेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले सदाको घरबाट ५६ वटा बोरामा प्याक गरेर लुकाइराखिएको अवस्थामा करिब १ हजार ४ सय किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजासहित पक्राउ परेका सदालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ।
सीमावर्ती क्षेत्र भएकाले बरामद गाँजा भारततर्फ निकासी गर्न लागिएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरी ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।
