संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो। उहाँलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले स्वागत गर्नेछन्।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह सोही दिन संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणसँग सम्बन्धित विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नुहुने कार्यक्रम रहेको छ।
त्यसपछि प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुनुहुनेछ।
भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। भेटवार्तापछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालको समसामयिक अवस्था, नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा नेपालको धारणा राख्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट कतारको दोहातर्फ प्रस्थान गर्नुहुनेछ। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले उहाँलाई स्वागत तथा बिदाइ गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका रहेको छ।
प्रधानमन्त्रीको यस भ्रमणसँगै संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिता, नेपालका अन्तर्राष्ट्रिय प्राथमिकता र बहुपक्षीय कूटनीतिका विषयमा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ।
