बाढी प्रभावितका लागि तनाव व्यवस्थापन शिविर सञ्चालन
काठमाडौँ, ६ असोजः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ ।
नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि निःशुल्क तनाव व्यवस्थापन तालिम सञ्चालन गरेको हो । सङ्घले काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बा र नुब्री गुम्बा, रातो गुम्बामा रहेका बाढी प्रभावितका लागि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।
सङ्घका महासचिव रामदेव महतोले बाढीबाट प्रभावित नागरिकको तनाव कम गर्न विगत एक सातादेखि उनीहरुलाई राखिएको काठमाडौँको विभिन्न गुम्बामा पुगेर शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
शिविरमा अकुपञ्चर सेवा, अकुप्रेसर सेवा तथा तनाव कम गर्न विभिन्न परामर्श सेवा दिइँदै आइएको छ । सेवापश्चात् प्रभावितलाई तनाव व्यवस्थापन गर्न राहत पुगेको छ ।
प्रत्येक दिन एक सयभन्दा बढी व्यक्तिले उक्त सेवा लिँदै आएका छन् । उक्त शिविर निरन्तर सञ्चालन गरिने सङ्घले जनाएको छ ।
