Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार | रासस

न्युयोर्क, ३१ असोज:
चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ । एकै टुक्रा कागजबाट बनाइएको यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग जोडिएको छ ।

    यसको अवधारणा सन् १८९४ मा आविष्कारक फ्रेडरिक वीक्स विल्कोक्सले सीप बोक्ने कागजी बाल्टिनका लागि पेटेन्ट लिएपछि सुरु भएको थियो । कागजलाई विशेष तरिकाले मोडेर बनाइने यस बाकसले खाना चुहिन नदिने र ढक्कन लगाउन मिल्ने सुविधा दिन्थ्यो ।

    सन् १८०० को मध्यतिर सुनको खोजी र रेलमार्ग निर्माणका लागि चिनियाँ आप्रवासीहरू अमेरिका पुग्न थाले । उनीहरूले बसोबास गरेका सान फ्रान्सिस्कोलगायतका सहरमा विकसित चाइनाटाउनका रेस्टुरेन्टले चिनियाँ खानाको अमेरिकी शैली स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेले ।

    नर्थ क्यारोलाइना विश्वविद्यालयकी चिनियाँ इतिहासकी प्राध्यापक मिशेल किङका अनुसार दोस्रो विश्वयुद्धपछि अमेरिकामा चिनियाँ रेस्टुरेन्ट र परिकारको विविधता उल्लेख्य रूपमा बढ्यो । चिनियाँ खानाको सस्तो मूल्य, सहज उपलब्धता र घर लैजान मिल्ने सुविधाले पनि यसको लोकप्रियता बढाएको उहाँले बताउनुभयो ।

    सन् १९७० को दशकतिर फोल्ड–पाक नामक प्याकेजिङ कम्पनीले कार्टनमा चिनियाँ शैलीको प्यागोडाको चित्र थप्यो । यसले कार्टनलाई चिनियाँ खानासँग जोडिएको विशिष्ट पहिचान दियो । किङले यसलाई इटालियन खानासँग जोडिने पिज्जा बक्ससँग तुलना गर्दै यस्तो प्याकेजिङले चिनियाँ अमेरिकी खानाको छुट्टै छवि बनाउन मद्दत गरेको बताउनुभयो ।

    अहिले यस्ता कार्टन विभिन्न आकारमा उपलब्ध छन् र तिनमा राखिने परिकारको दायरा पनि फराकिलो भएको छ । खानाको प्याकेजिङमा मात्र सीमित नरहेको यसको पहिचान मोबाइल फोनमा ‘टेकआउट’ जनाउने इमोजीमा समेत देखिन्छ । यसले सामान्य कागजी बाकस कसरी अमेरिकी लोकप्रिय संस्कृतिको प्रतीक बन्यो भन्ने देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan