Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार | (रासस)

वीरगञ्ज (पर्सा), ११ साउन : नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै उक्त दिनको सिसिटिभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो ।

    शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुत पनि पटेलको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

    पटेलको मृत्यु पश्चात् अस्पताल प्रशासन र पीडित पक्षबीच सम्वाद र छलफल हुँदै गर्दाको अवस्थामा केही अराजक व्यक्तिहरूबाट अस्पतालको भौतिक संरचना तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेपछि सृजना भएको घटनाका बारेमा छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ ।

    चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै आकस्मिक विभागमा कार्यरत डा रामलाई मरनासन्न हुने गरी कुटपिट गरेको जनाउँदै हाल उहाँको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनापश्चात् अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाइरहेकाले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

    यसैबीच, चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आज घण्टाघरमा प्रदर्शन पनि गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan