अदालत परिसरमै ‘छुटाइदिन्छौँ’ भन्दै रकम असुल्ने दुई बिचौलिया पक्राउ, ४ लाख ७९ हजार बरामद
काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट प्रहरीले थुनामा रहेका लागुऔषध मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा दुई जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३१ वर्षीय अजय थापा मगर र विदुर नगरपालिका–९ घर भई काठमाडौं बस्ने ४२ वर्षीय हरिराम गिरी रहेका छन्।
लागुऔषध खैरो हेरोइन मुद्दामा थुनामा रहेका विमल घलेलाई अदालतबाट छुटाइदिने भन्दै रकम लिएको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरो र काठमाडौं जिल्ला अदालतमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाको साथबाट ४ लाख ७९ हजार रुपैयाँ नगद बरामद भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बताएका छन्।
प्रहरी अनुसन्धानअनुसार उनीहरूले लागुऔषध मुद्दाका प्रतिवादी घलेकी श्रीमतीसँग उक्त रकम लिएको खुलेको छ। पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ।
यसैबीच, लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
