प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
काठमाडौँ, १७ कात्तिकः बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई प्राथमिकतामा राखेर नहर सञ्चालन गरिरहेको छ ।
विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइमार्फत पानी उपलब्ध गराइएको छ ।
त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुर्याइरहेको छ ।
कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका नहर धानबालीका लागि निरन्तर सञ्चालनमा रहेका छन् । बाली लगाउने र उत्पादन गर्ने समयमा किसानलाई पानीको अभाव हुन नदिन निर्माण तथा मर्मतसम्भारका काम बाली भित्र्याएपछि गर्नेगरी कार्यतालिका मिलाइएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धानबालीको सिजनमा किसानलाई नियमित पानी उपलब्ध गराउनु विभागको प्राथमिकतामा छ । सोहीअनुसार नहर सञ्चालनलाई निरन्तरता दिँदै निर्माणका कामलाई अनुकूल समयमा अघि बढाउने व्यवस्था गरिएको छ ।
यसैबीच, पछिल्लो समय विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गरिएको छ । पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा तीन हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको महानिर्देशक रजौरियाले जानकारी दिनुभयो ।
त्यस्तै, सिक्टा र बबई सिँचाइ आयोजनासहित गत भदौ मसान्तसम्म मुलुकभर करिब २०० हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार भएको विभागले जनाएको छ । सिँचाइ प्रणालीको विस्तार र सञ्चालनले कृषि उत्पादन वृद्धि तथा किसानलाई खेतीपातीमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

