विश्वविद्यालयको नेतृत्वमा नयाँ अनुहार, सुधारको अपेक्षा
सिबी अधिकारी
काठमाडौँ, १७ कात्तिकः मुलुकको शिक्षा प्रणाली सुधार गरी यसलाई प्रविधिमैत्री व्यावहारिक र जीवन उपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो ।
शिक्षाका साथै खेलकुद क्षेत्रको विकास र विस्तारमा मन्त्रालयको उत्तिकै भूमिका छ । विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहलकदमी र मार्गनिर्देशनअनुरुप विश्वविद्यालयलाई विशिष्टिकृत बनाउने दायित्व विश्वविद्यालय पदाधिकारीको काँधमा छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको ‘एकेडेमिक सारथी’का रुपमा सात विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ । यी सात अनुहार केबल नेतृत्व मात्रै होइन नागरिकको परिवर्तनको आकाङ्क्षालाई आत्मसात् गरी शैक्षिक संस्थालाई परिणाममुखी बनाउने कार्यकारी पनि हुन् ।
उच्च शिक्षा विद्यालय तहपछि अर्थात् माध्यमिक तहपछि प्राप्त गरिने शिक्षा हो । उच्च शिक्षाको श्रीवृद्धिका लागि त्यसको नेतृत्व कस्तो हुन्छ भन्ने अर्थ राख्छ । देशको भविष्य निर्माण गर्ने कर्णाधार उत्पादन र जीवनोपयोगी सीप, ज्ञान हासिल गर्न यसको महत्व र सान्दर्भिकता हुन्छ ।
यस्तो शिक्षाको सक्षम नेतृत्व प्रदान गरी उच्च शिक्षाको व्यावसायिक र गुणस्तरीयता कायम गर्न विश्वविद्यालयको नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ ।
शिक्षामन्त्रीको अभिभावकत्वमा उच्च शिक्षाको सुधार र विश्वविद्यालयको उत्कृष्टता कायम गर्नाका साथै समयमै परीक्षाको नतिजा निकाल्न, शैक्षिकसत्र प्रभावकारी सञ्चालन गर्न र विश्वविद्यालयको भौतिक सम्पत्तिको जगेर्ना र उपभोगका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । विश्वविद्यालयको खस्किएको शाख उकास्न र शिक्षा र परीक्षा प्रणाली सुधारका लागि प्राथमिकता दिनुपर्ने छ ।
सरकारले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गरिसकेको छ । नियुक्त पदाधिकारीले आ–आफ्नो जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । उपकुलपति नियुक्ति गर्न विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३’ जारी गरिएको थियो ।
उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनोट गरेको हो ।
सरकारले त्रिविसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेको छ । नियुक्त उपकुलपतिले विश्वविद्यालय सुधारका लागि कामको थालनी गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले करिब ३० वर्ष काठमाडौँ विश्वविद्यालयमा काम गर्नुभएको छ । उहाँसँग चार वर्ष काठमाडौँ विश्वविद्यालयको उपकुलपति सम्हालेको अनुभव पनि छ । उहाँले हाइड्रोलिक मेसिनमा बालुवाका कणले हुने घर्षणमा विद्यावारिधि गर्नुभएको छ ।
विसं २०७७ मा थापा काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्त हुनुभएको थियो । यसअघि थापाले काठमाडौँ विश्वविद्यालयमा डिन, रजिस्ट्रार र उपकुलपतिसमेत रहेर काम गर्नुभएको थियो । उपकुलपति थापासँग जलविद्युत्सहित ऊर्जा क्षेत्रको अनुसन्धान र इन्जिनियरिङ शिक्षा क्षेत्रको ज्ञान छ ।
काठमाडौँ निवासी डा थापाले सन् १९८३ मा ल्याबोरेटोरी हाई स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह (पिसिएल) पूरा गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाल सरकारको कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत भारतको पञ्जाब इन्जिनियरिङ कलेजबाट सन् १९९१ मा मेकानिकल इन्जिनियरिङमा स्नातक (बीइ) गर्नुभयो । उहाँले सन् १९९९ मा भारतकै बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नातकोत्तर (एमई) र सन् २००४ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट स्याण्ड इरोजन इन हाइड्रोलिक मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधिको उपाधि हासिल गर्नुभएको छ ।
बैतडीका किसनदत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । इन्जिनियरसमेत रहनुभएका भट्टसँग सुदूरपश्चिम विश्वविद्यालयमा लामो समयदेखि अध्यापन गराएको अनुभव छ । उहाँले दुई कार्यकाल इन्जिनियरिङ अध्ययन संस्थानमा डिन रहेर काम गर्नुभएको थियो ।
भट्टले २०६२÷६३ पछि केही समय लोकसेवा पास गरेर सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालय चितवनमा रहेर काम गर्नुभएको थियो । पछि स्नातकोत्तर अध्ययनका लागि निजामती सेवा छाडेर हङकङ जानुभयो ।
उहाँले हङकङबाटै सहरी विकास कार्यक्रममा स्नातकोत्तर गर्नुभयो । स्वदेश फर्किएर नेपाल इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्नुभयो । हङकङबाटै विद्यावारिधि गर्नुभएका उहाँले त्यसपछि स्वदेश फर्किएर केही समय पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यापन गराउनुभयो । त्यसपछि सुदूरपश्चिम विश्वविद्यालयमा आबद्ध हुनुभएका उहाँ उपकुलपति बन्नुभएको छ । प्रशासनिक एवं शैक्षिक विकासमा भट्ट कुशल प्राध्यापक मानिनुहुन्छ ।
डा राजन सुवाल मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । भक्तपुरका सुवालले मध्यपश्चिम विश्वविद्यालयमै पढेर यसको नेतृत्व लिने अवसर प्राप्त गर्नुभएको छ । उहाँसँग मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायको डिनका रूपमा काम गरेको अनुभव छ । डा सुवाल ख्वप इन्जिनियरिङ कलेजका पूर्वसंस्थापक प्रिन्सिपल (सस्थापक प्राचार्य) हुनुहुन्छ । उहाँले सन् २००१ देखि २००९ सम्म ख्वप कलेजको नेतृत्व गर्नुभएको थियो । डा सुवाल नेपालका एक वरिष्ठ स्ट्रक्चरल इन्जिनियर र प्राध्यापक हुनुहुन्छ । उहाँले स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ । लामो समय त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा सह–प्राध्यापकका रुपमा अध्यापन गराउनुभएको थियो ।
लमजुङको राइनास नगरपालिकाका ऋषिराम कट्टेल कृषि तथा वन विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । उहाँसँग कृषि तथा वन विज्ञानका क्षेत्रमा अध्यापन एवं अनुसन्धानको अनुभव छ । कट्टेल रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सेवा गर्नुभयो । उहाँले कृषि व्यवस्थापन र कृषि अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ ।
उहाँ कृषि अर्थशास्त्रका प्राध्यापक, अनुसन्धानकर्ता तथा कृषि व्यवसाय, मूल्य शृङ्खला, बजार प्रणाली र नीतिगत विश्लेषणको विज्ञ हुनुहुन्छ । कट्टेलसँग करिब २० वर्षको शिक्षण, अनुसन्धान, विश्वविद्यालय प्रशासन तथा विकाससम्बन्धी अनुभव रहेको छ ।
उहाँले सो विश्वविद्यालयको प्राध्यापक, विभागीय प्रमुख, एकेडेमिक काउन्सिल सदस्य तथा अनुसन्धान तथा विस्तार निर्देशनालयका निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
उहाँका ५० भन्दाबढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धान प्रकाशन रहेका छन् । उहाँको प्रमुख विशेषज्ञता कृषि अर्थशास्त्र, कृषि व्यवसाय व्यवस्थापन, मूल्य तथा आपूर्ति शृङ्खला, अर्थमितीय विश्लेषण, कृषि तथ्याङ्क, लागत–लाभ विश्लेषण, जलवायु–अनुकूल कृषि, बजार प्रणाली तथा नीति अनुसन्धानमा रहेको छ ।
राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा डा श्याम नारायण लाभ जनकपुर निवासी हुनुहुन्छ । उहाँ त्रिविकै प्राणीशास्त्रका प्राध्यापक हुनुहुन्थ्यो । उहाँले माछाको पोषणबारे भारतबाट विद्यावारिधि गर्नुभएको छ । उहाँ प्राध्यापकसँगै जलीय कृषि वैज्ञानिक र नीति अधिवक्ता पनि हुनुहुन्छ । उहाँ युनिभर्सिटी अफ इडाहो, संयुक्त राज्य अमेरिकाको फुलब्राइट रिसर्च स्कलर हुनुहुन्थ्यो । अमृत साइन्स क्याम्पसका अवकाशप्राप्त प्राध्यापक लाभले सोही क्याम्पसको प्राणीशास्त्र विभागको प्रमुख हुनुभएको थियो ।
चार दशकभन्दा बढी समयको अवधिमा उहाँले आफूलाई नेपालका सर्वाधिक सम्मानित वैज्ञानिक, शिक्षाविद् र दूरदर्शी व्यक्तिका रूपमा स्थापित गर्नुभएको छ । विज्ञान तथा शिक्षा क्षेत्रमा उहाँको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई विभिन्न प्रतिष्ठित सम्मानहरूबाट विभूषित गरिएको छ, जसमा धेरै वटा लाइफ–टाइम अचिभमेन्ट अवार्ड (२०१०, २०१२, २०२० र २०२२) तथा विज्ञान रत्न पुरस्कार (२०२१) समावेश छन् । प्राज्ञिक उत्कृष्टताको राष्ट्रिय मान्यतास्वरूप उहाँलाई सन् २०१० मा नेपालका राष्ट्रपतिद्वारा ‘नेपाल विद्या भुषण (क श्रेणी)’ पदक प्रदान गरिएको थियो ।
भोजपुरका देवेन्द्र अधिकारी पोखरा विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । उहाँले लामो समय महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउनुभएको थियो । उहाँले भौतिकशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँले महेन्द्र मोरङमा भौतिकशास्त्र विभागीय प्रमुख रहेर पनि काम गर्नुभएको थियो ।
अधिकारी यसअघि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्ष पनि हुनुभयो । विसं २०८२ माघमा उहाँ सेवा आयोग अध्यक्ष नियुक्त हुनुभएको थियो । अधिकारीसँग त्रिवि र खुला विश्वविद्यालयमा काम गरेको अनुभव छ । उहाँले त्रिवि र खुला विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा रहेर पनि काम गर्नुभएको थियो । पीयु सेवा आयोग अध्यक्ष, एकेडेमिक काउन्सिलको सदस्य, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको धरानको छनोट समिति सदस्य र रिसर्च म्यानेजमेन्ट चेयरमेन हुनुभएको थियो ।
प्रा डा सुजनबाबु मरहट्ठा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ । उहाँ प्रख्यात जनस्वास्थ्य विशेषज्ञ, प्राध्यापक तथा शिक्षाविद् हुनुहुन्छ । मरहट्ठाले खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्यापन गर्दै आउनुभएको थियो । जनस्वास्थ्य विज्ञ उहाँ चिकित्सा शिक्षा आयोगका पूर्वनिर्देशक पनि हुनुहुन्छ ।
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति हुनुअघि उहाँले नेपाल खुला विश्वविद्यालयमा जनस्वास्थ्य विषयको प्राध्यापक, चिकित्सा शिक्षा आयोगको निर्देशक तथा मनमोहन मेमोरियल इन्स्टिच्युट अप हेल्थ साइन्सेसमा जनस्वास्थ्य विभागको नेतृत्व गर्नुभएको थियो ।
उहाँ महामारी विज्ञान र सङ्क्रामक रोग नियन्त्रण (विशेषगरी क्षयरोग र कोभिड–१९) का ज्ञाता हुनुहुन्छ । उहाँका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलमा १०० भन्दाबढी अनुसन्धानमूलक लेख प्रकाशित छन् । उहाँले नेपाल सरकारको उच्चस्तरीय स्वास्थ्य नीति मस्यौदा समिति, उच्चस्तरीय शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयको कोभिड–१९ कमान्ड सिस्टममा रहेर महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

