Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको जिम्मेवार भूमिका आवश्यक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | रासस

 ललितपुर, १७ कात्तिकः आत्महत्याको जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीले जिम्मेवार तथा संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा मानसिक स्वास्थ्य विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सोमबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा आयोजना गरेको आत्महत्यासम्बन्धी जिम्मेवार सञ्चार रिपोर्टिङ अभिमुखीकरण कार्यक्रममा उनीहरूले जोड दिएका हुन् ।

    स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, जोखिमको समयमै पहिचान र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार, तस्बिर र भिडियोले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिको सोच र व्यवहारमा प्रभाव पार्नसक्ने भएकाले संवेदनशीलता अपनाउनुपर्ने उहाँको भनाइ थियो ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले आत्महत्यासम्बन्धी समाचारमा घटनाको सनसनीपूर्ण प्रस्तुति र विस्तृत विवरणभन्दा रोकथामका उपाय, सहयोग उपलब्ध हुने सेवा र आशाका सन्देशलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणका लागि तयार पारिएको ‘सञ्चारकर्मीका लागि मार्गदर्शन, २०८०’ का विषयमा जानकारी गराउनुभयो । उहाँले समाचारमा आत्महत्या रोकथामका उपाय, मनोसामाजिक परामर्श सेवा र राष्ट्रिय मानसिक स्वास्थ्य हेल्पलाइन नम्बर ११६६ समावेश गर्नुपर्ने बताउनुभयो । 

    मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अनन्त अधिकारीले आत्महत्याको सोचबाट बाहिर निस्केर सामान्य जीवनमा फर्किएका व्यक्तिका अनुभव र सफलताका कथालाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताउनुभयो । आत्महत्याका प्रारम्भिक सङ्केत पहिचान गर्ने, जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्ने र स्वास्थ्यकर्मी तथा मनोपरामर्शदातासँग परामर्श लिन प्रेरित गर्ने सामग्रीले जनचेतना बढाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
    
    प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार पूर्ण रुपमा आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा आत्महत्याका घटनामा प्रयोग गरिएको विधि, स्थान, प्राविधिक विवरण, घटनासम्बन्धी तस्बिर, भिडियो तथा सुसाइड नोट सार्वजनिक नगर्न सञ्चारकर्मीलाई सुझाव दिइएको थियो । त्यस्ता विवरणले जोखिममा रहेका व्यक्तिलाई नक्कल गर्न प्रेरित गर्नसक्ने भएकाले समाचारलाई सनसनीपूर्ण बनाउने र अनावश्यक प्राथमिकता दिने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिइएको थियो । 

    आत्महत्यालाई प्रेममा असफलता, ऋणको तनाव वा परीक्षामा असफलताजस्ता कुनै एउटा कारणसँग मात्र जोडेर प्रस्तुत गर्न नहुने विज्ञहरूको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan