Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | रासस

 महोत्तरी, १७ कात्तिकः भर्खरै दसैँ सकेका मधेसका बस्तीमा दीपावली र छठ पर्वको चहलपहल सुरु भएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा यी पर्व मन फुकाएर मनाउने गरिन्छ । यी पर्वले मधेसका बस्ती चलायमान हुन्छन् । दीपावली र छठ पर्वको गर्जो टार्न स्थानीयवासीले माटो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन् । 

    मिथिला क्षेत्रमा दीपावली र छठ पर्वअघि घर विभिन्न रङ पोतेर चिटिक्क पार्ने स्थापित परम्परा छ । यसै परम्पराभित्र गरिब बस्तीका श्रमिकका लागि केही आर्जनको अवसर पनि छ । 
 
    मिथिलामा दीपावलीलाई सरसफाइ, रङरोगन र उज्यालोको पर्व मानिन्छ । यसैगरी छठ निष्ठा र भक्तिको । यस अवसरमा सबैले घर लिपपोत र रङरोगन गर्ने हुँदा यहाँ यी पर्वअघि विभिन्न रङका माटोको माग अत्यधिक हुने गर्छ । 

    “पर्व त अब मुखमै छ, अलिअलि दशहरामा कमाइयो, अब दिवाली (दीपावली) र छठ अघि माटोको माग छ”, भङ्गाहा–३ सकरी बस्तीकी पुर्नी सदा भन्नुहुन्छ, “यही माटोको कमाइले आफ्नो पर्व टार्नु छ ।” यी पर्वमा माटो बेचेर घरखर्च टार्ने र थप केही नगद बचत हुने गरेको उहाँ बताउनुहुन्छ । दसैँदेखि तिहार र छठसम्म बस्तीमा माटो खोज्न निस्कने वर्षौंदेखिको प्रचलन छ । 

    औरही–८ टिम्कियाको मुसहरीटोलकी शनिचरी सदाले दसैँदेखि छठसम्म माटो बेचेकै रकमले यी पर्व टार्ने गरिएको बताउनुभयो । यस्तै भङ्गाहा–४ रामनगरको दलित बस्तीकी हेमनी सदाले पछिल्ला १० वर्षयता बर्सेनि विभिन्न रङ्का माटो सङ्ग्रह गरेर राम्रो आम्दानी गर्नुभएको छ । 

    बढी माग हुने कमेरे र पहेँलो माटो बस्ती नजिककै पोखरी र खोला किनारबाट ल्याउने गरिए पनि रातो माटो लिन १५÷१६ किलोमिटर दूरीको बर्दिबासको रातोमाटो थुम्कामा पुग्नुपर्ने उहाँले बताउनुभयो । “दुःख त छ, तर दुःख गरेअनुसार दुईचार पैसा थैलीमा पर्छ”, हेमनी भन्नुहुन्छ, “यही कमाइले छोराछोरीको रहर र पर्वको खर्च जुट्छ ।” यी पर्वमा माटोबाहेक घर लिपपोतबाट पनि राम्रै पारिश्रमिक पाइने गरिएको उहाँको भनाइ छ । 

    जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ वटै स्थानीयतहका लगभग सबैजसो बस्तीमा मुसहर समुदायको धेरथोर बसोबास छ । यी बस्तीका युवायुवती माटो ओसार्न लाग्छन् । यो आर्जनको अवसर भएको गौशाला–४ रजखोरकी बुधनी सदा बताउनुहुन्छ । 

    मधेसमा दशहरा, दीपावली र छठ पर्वका बेला घर लिपपोत र रङरोगनका लागि रातो, कमेरे, पहेँलो र धुस्रो कालो माटो प्रयोग गर्ने चलन छ । यताका अधिकांश घर बाँसको चोयाका भित्ताका हुनेहुँदा यिनको लिपपोत र रङरोगनमा माटोको प्रयोग हुने गरेको हो । 

    मिथिलाको स्थापित यो चलनले गरिब बस्तीका श्रमिकका लागि माटो सङ्ग्रह आर्जनको अवसर हुने गरेको छ । नियमित खेतीपाती र मजदुरीभन्दा फरक समयको काम हुनाले यसबाट आर्जन हुने रकमलाई दलित बस्तीका श्रमिक थप कमाइ ठान्छन् । यी पर्वका बेला आफ्ना बस्तीका श्रमिकले माटो बेचेरै पर्वखर्च जोहो गर्ने गरेका गौशाला–१ रामनगरकी ममता महतोको भनाइ छ । 

    आमरुपमा किसानको खेतपातीमा श्रम गरेर गुजारा चलाउने श्रमिक पर्वविशेषमा थप नगद आर्जनका लागि माटोको खोजीमा निस्कन्छन् । सदा थरका अधिकांश मुसहरसँग पर्वका लागि पहिले जोहो गर्ने आर्थिक हैसियत नहुँदा उनीहरुका लागि चाडबाड विशेषका काम आर्जनको खास अवसर बन्ने गरेको छ । 

    अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह बनाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । अहिले गरेको मेहनतले आफ्नो घर पोत्नसँगै पर्वमा घरखर्चको जोहो हुने गरेको स्थानीय महिलाको भनाइ छ । दिनदिनै पक्की घर बन्नेक्रम बढ्दै गएपछि केही वर्षपछि माटो सङ्ग्रहको चलन हराउनसक्ने यी बस्तीका मानिसको चिन्ता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan