बाढी प्रभावित हाकुबेसीका ६७ बालबालिकाका लागि गोदावरीमा आवासीय विद्यालय सञ्चालन गरिने
काठमाडौं । भोटेकोशी–रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न सरकारले ललितपुरको गोदावरीमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालन गर्ने भएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित बालबालिकाको शिक्षामा पहुँच कायम राख्दै उनीहरूको संरक्षण र समग्र विकासलाई ध्यानमा राखेर अस्थायी विद्यालय सञ्चालन गर्न लागेको हो।
यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि माननीय मन्त्री सिता बादीको उपस्थितिमा मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रस्तावित आवासीय विद्यालयमा बालबालिकालाई सुरक्षित आवास, नियमित शिक्षा, स्वास्थ्य सेवा, पोषण तथा आवश्यक संरक्षणको व्यवस्था गरिनेछ। विपद्का कारण विस्थापित भएका बालबालिकाको पढाइमा अवरोध आउन नदिन र उनीहरूको शैक्षिक भविष्य सुरक्षित राख्न यो पहल अघि बढाइएको हो।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्न सक्ने भएकाले उनीहरूलाई सुरक्षित वातावरणमा राखेर अध्ययनलाई निरन्तरता दिनु आवश्यक रहेको छ।
गोदावरीमा आवासीय सुविधासहित अस्थायी विद्यालय सञ्चालन गर्ने यो पहलले प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै विपद्का कारण उनीहरूको भविष्यमा पर्न सक्ने दीर्घकालीन असर न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

