एलडिसी स्तरोन्नति : नेपालको तयारी
काठमाडौँ, ३० असोजः नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि सृजना हुनसक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन् । स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त समयका रूपमा उपयोग गर्दै निर्यात प्रवर्द्धन, उत्पादनको गुणस्तर सुधार र अन्तरराष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ ।
निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को आयोजना तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सहयोगमा यहाँ आयोजित ‘नेपालको एलडीसी स्तरोन्नतिः निर्यातमुखी उद्यमका चुनौती र अवसर’ विषयक राष्ट्रिय संवादमा सहभागी सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन् । नेपालले एलडीसीबाट स्तरोन्नति हुने समयावधि थप गर्न तीन वर्षको समय माग गरेको सन्दर्भमा सहभागीहरूले तयारीलाई पछि सार्नेभन्दा अहिलेबाटै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । उनीहरूले निर्यात प्रवर्द्धन र औद्योगिक विकासका लागि सरकारले अघि सारेका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा नीति निर्माणमा मात्र सीमित नभई कार्यान्वयनलाई प्राथमिकता दिन, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न तथा निर्यातमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरिएको थियो । विशेषगरी साना तथा मझौला निर्यातमुखी उद्यमको क्षमता विकास, उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र गुणस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको निष्कर्ष थियो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत निकाय महाशाखाका प्रमुख एवं सहसचिव कृष्णप्रसाद ढकालले निजी क्षेत्रलाई सुदृढ बनाउँदै अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु सरकारको प्राथमिकता रहेको बताउनुभयो । परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीतिक महाशाखाका प्रमुख मणिरत्न शर्माले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले निर्यात प्रवर्द्धनका लागि कार्ययोजना बनाएर काम गरिरहेको जानकारी दिँदै स्तरोन्नतिका चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने बताउनुभयो ।
निर्यात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले स्तरोन्नतिपछि नेपाली उत्पादनले अन्तरराष्ट्रिय बजारमा सामना गर्न सक्ने चुनौतीलाई ध्यानमा राखेर उत्पादन लागत न्यूनीकरण, गुणस्तर सुधार, उत्पादकत्व वृद्धि र प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड दिनुभयो । उहाँले नेपाली वस्तुको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता बढाउनु आवश्यक रहेको बताउनुभयो । फिनका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले स्तरोन्नतिको समयावधि थपिए पनि तयारीमा ढिलाइ गर्न नहुने बताउनुभयो भने कार्यकारी निर्देशक रामसुदन तिमल्सिनाले नेपालको एलडीसी स्तरोन्नतिसम्बन्धी चुनौती र अवसरबारे साझा धारणा निर्माण गर्दै निर्यात क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरराष्ट्रिय श्रम सङ्गठनको एलडीसी स्तरोन्नति परियोजनाका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा लिनुपर्ने बताउँदै त्यसका लागि तयारी तत्काल सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारमेन्टका कार्यकारी निर्देशक डा पारस खरेलले ‘एलडीसी स्तरोन्नतिः निर्यातमुखी साना तथा मझौला उद्यमका अवसर, चुनौती र प्रभाव’ विषयमा तथ्याङ्कसहित प्रस्तुति दिनुभएको थियो । त्यसपछि भएको प्यानल छलफलमा सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूले स्तरोन्नतिले निर्यातमुखी उद्यममा पार्नसक्ने प्रभाव, चुनौती र सम्भावित अवसरबारे धारणा राखेका थिए ।

