Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा पाकिस्तानका मिसबाह उलहक नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

काठमाडौँ, ३० असोजः नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । पहिलो र दोस्रो संस्करणमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका जगत टमाटाको स्थानमा मिसबाहलाई नियुक्त गरिएको सुदूरपश्चिम रोयल्सले आज सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा जानकारी दिएको हो ।

पाकिस्तानको राष्ट्रिय टोलीबाट लामो समय खेल्नुभएका अनुभवी ब्याटर मिसबाहले अब एनपिएलमा सुदूरपश्चिमको नेतृत्व सम्हाल्नुहुने भएको हो । मिसबाहले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय गरी तीनवटै प्रारूपमा खेल्नुभएको छ । उहाँले ७५ टेस्ट, १६२ एकदिवसीय अन्तरराष्ट्रिय र ३९ टी–२० अन्तरराष्ट्रिय खेलमा पाकिस्तानको प्रतिनिधित्व गर्नुभएको थियो ।
 
खेलाडीको रूपमा स्थापित मिसबाहले कप्तानको भूमिकामा पनि पाकिस्तानको क्रिकेटमा महत्त्वपूर्ण योगदान दिइसक्नुभएको छ  । उहाँको नेतृत्वमा पाकिस्तानले ५६ टेस्टमध्ये २६ खेल जितेको थियो ।     
    
मिसबाहले सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरका अन्तरराष्ट्रिय खेलबाट सन्न्यास लिनुभएको थियो ।  सन् २०१९ देखि २०२१ सम्म उहाँले पाकिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

अन्तरराष्ट्रिय क्रिकेटमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा अनुभव हासिल गर्नुभएका मिसबाहको नियुक्तिले सुदूरपश्चिमको आगामी सिजनको तयारीलाई थप चासोका साथ हेरिएको छ ।

मिसबाहले पनि नेपाल आउन र सुदूरपश्चिमको प्रशिक्षक बन्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले नेपाली समर्थकको क्रिकेटप्रतिको लगावबारे आफूले सुनेको उल्लेख गर्नुहुँदै छिट्टै नेपालमा भेट हुने बताउनुभएको छ । तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan