Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मनास्लुमा आमरण अनसन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |

गोरखा, २ असोजः जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन सुरु गरेका छन् । 

    चुमनुब्री गाउँपालिका–१ सामागाउँका दावा नोर्वु लामासहित ११ युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नेसहित आठ बुँदे माग राख्दै आजदेखि मनास्लु आधार शिविरमा आमरण अनसन सुरु गरेका हुन् । उहाँहरुले मनास्लु बेसक्याम्पभन्दा माथि चार हजार ९०० मिटर उचाइमा अनसन थाल्नुभएको हो । 

    मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा यस वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ । मनास्लुको फेदमा वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीनवटा जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाइ निरीक्षण गर्नसमेत माग गरिएको छ । 

    ती ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न उहाँहरुले मागपत्रमार्फत माग गर्नुभएको छ । नेपाल र चीनका सीमावर्ती क्षेत्रमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ । देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ ।

    सबै हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी विषय पाठ्यक्रममा समेट्न माग गरिएको छ । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्नका लागि सहरमा हुने गरेका जलवायुसम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ ।

    आठ बुँदे माग राख्दै केही दिनअघि प्रमुख जिल्ला अधिकारी, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय एकाइ कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत ध्यानाकर्षण पत्र पेस गरिएको अनसनरत युवा दावा नोर्वु लामाले जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan